दमक, १९ कार्तिक–खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक,झापाको भोलि शुक्रवार हुने ३० औं बार्षिक साधारणसभाको तयारी पूरा भएको जनाएको छ ।संस्थाले आफनै सभाहलमा आज पत्रकार सम्मेलन गरि साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवदनलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष रवि केसी न्यौपानेसहित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु र लेखा समितिका सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिकका क्रममा अध्यक्ष न्यौपानेले दमकबासीलाई स्वच्छ संगै सुलभ मूल्यमा खानेपानी उपलव्ध गराउन यस उपभोक्ता संस्था सदैव प्रतिवद्ध भएको जोड दिए ।

दमकमा हाल १५ हजार धरधुरीले धारा जडान गरि खानेपानीको सेवा प्राप्त गरिआएका र उपभोक्ताहरुको हितमा टेवा पुरयाँउन आगामी मंसीरदेखि ८ यूनिटसम्म पानी महषुलमा १० घटाई रु ४०, ९ यूनिट सम्मको पानी महषुलमा १४८ रुपैया रहेकोमा ४८ घटाई रु १ सय कायम गरिआएको छ भने १० यूनिट माथिको महषुल दररेटमा समेत छुट गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले उल्लेख गरे ।

सार्वजनिक प्रतिवेदनका अनुसार संस्थाले सार्वजनिक धारा जडान गर्नेदेखि क्षेत्रगत आधारमा अतिविपन्न ७ घरलाई निशुल्क , १५ घरलाई ५० प्रतिशत छुट सम्म गरि जडान गरिने कार्यक्रम यसवर्ष पनि यथावत गरिएको उल्लेखछ ।

संस्थाका सचिव चन्द्रवहादुर थापाले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले खानेपानीको अवस्था, भावी योजना लगायतका विषयमा जानकारी गराएका थिए ।

दमक खानेपानीसहित दमकमा उत्तरी क्षेत्रका उपभोक्ताहरुका लागि हम्सेदुम्से र बेलडाँगी खानेपानी संस्था स्थानीय स्तरमा सञ्चालनमा छन् । दमक १० मा खानेपानी वितरणको अन्तिम प्रकृयामा रहेको बाह्घरे खानेपानी आयोजना दमकको मुख्य संस्थामा गाभिएपछि एक दशक ढिलाई भएर पनि बल्ल खानेपानी पुग्न लागेको हो ।

दमकमा करिव २० हजार घरधुरी छन् । ती मध्ये करिव ८० प्रतिशत बढीका घरधुरीमा खानेपानीका धारा पुगिसकेको छ । दमकका १० वटा वडामध्ये दमक १, २, ५, ६, ७, ८, ९ वडाहरु निकै ठुलो सघन बसोबास मानिन्छन् । ती सघन बस्तीमा यसै संस्थाले पानी वितरण गरिआएको छ ।

संस्थाले आर्थिक वर्ष २०८२/०८३ को अवधिमा पानी महषुल वापत ८ करोड, ३५ लाख ४५ हजार ३ सय ७८, खर्च ६ करोड ९८ लाख ३८ जार ५ सय ३१, बचत १ करोड ३७ लाख ६ हजार ८ सय ४७ गरि कुल बैंक मौज्दात १६ करोड ७७ लाख २१ हजार १ सय ७५ रुपैया रहेको उल्लेख छ ।

कार्यक्रममा संस्थाका पदाधिकारी , सदस्यहरु, लेखा समितिका सदस्यहरु, सल्लाहकारहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको व्यवस्थापक कृष्ण थापाले बताएका छन् ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *