सौठा (मोरङ), २२ फागुन–तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस् अर्थात पक्षघात भएर हालः ओच्छ्यानमा थलिएर कष्टकर जीवन बिताइरहेकी छन् । गत पुष ७ गते झापाको दमकस्थित एक प्रसुती गृह अस्पतालमा बच्चा जन्माएर मोरङको उर्लाबारीस्थित आफ्नो घर फर्किएकी १९ बर्षिया बर्षा घरायसी कामकाजको क्रममा लडेर घाइते भएकी थिइन् ।

सुत्केरी अवस्थामा शारिरिक रुपमै कमजोर भएकै कारण बर्षा भुईमा लडेकी थिईन् । त्यसबेला उनलाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरियो । त्यहाँ उनको केही उपचारका प्रकृयाहरु सुरु भयो । सो अस्पतालमा केही दिनको उपचार पश्चात उनीलाई घर ल्याइयो । खासमा, उनको उपचारमा खर्चको अभावले नै घर ल्याएको हो, उनको बुबा खेमनाथले भने ।

मोरङको रतुवामाई नगरपालिकाकोे वडा नं ६ सौठामा बर्षाको माइती घर हो । उनी, आजभोली माइत घरमा आश्रय लिएर बाँकी आफ्नो र नाबालक छोराको जीवन व्यथित गरिरहेका छन् । उनी बोल्न सक्छन तर शरिरको भाग चल्दैन । बाँसको टाँटी बेरा भएको सानो छाप्रोभित्र उनी ओच्छ्यानमै दिन रात बिताइरहेकी छन् । उनीसँगै तीन महिने छोरा पनि छ तर छोराले आमाको काख र स्तनपान गर्न पाएका छैनन् ।

यता, बर्षाकी आमा र बुबाको अवस्था झनै नाजुक अवस्थामा छ । अर्काको जमिन कमाउँछन् । सोही जमिनमा रहेको छाप्रोलाई मर्मत गरेर अहिले ७ जनाको परिवार बसोबास गरिरहेका छन् । खेतीपातीको काम भइञ्जेल आफ्नै घरमा र आफ्नो घरमा खेतीपातीको काम सकेपछि ज्यालामजदुरी गर्न नजिकैको गाउँ घरमा काम गर्न जान्छन् बर्षाकी आमा बुबा ।

बर्षा घरकी जेष्ठ सन्तान हुन् । बर्षापछि दुई बहिनी र एक भाई छन् । उनीहरु गाउँकै बिद्यालयमा कक्षा ९, ७ र ३ मा अध्ययनरत छन् । आमा बुबा कामकाजले बाहिर भएको समयमा उनै बहिनी र भाईले बर्षा र बर्षाकी छोराको हेरचार गर्छन् ।

बर्षाको उपचारमा आर्थिक समस्या भएको कारण समस्या उत्पन्न भयो, स्थानीयबासी समेत रहनुभएका बिरामीका आफन्त खगेन्द्र खालिङ राईले भने । खगेन्द्रले भने–’घाइते अवस्थामै अस्पतालमा उपचार त भयो तर पर्याप्त औषधी र उपचार नभएकै कारण समस्या जटिल बन्यो ।’

अहिले, बिगतको समयमा भन्दा स्वास्थ्यमा सुधार आएको देख्न सकिन्छ । उनी पहिले भन्दा बोल्न सक्ने भईन । उनी, आफ्नो हातको साहारामा खान-खान सक्ने भइन् । अनुहारमा केही खुशीहरु देख्न सकिने भएको छ ।

पछिल्लो समय, भारतको सिलगुढीस्थित एक अस्पतालमा उपचार गराइरहेकी बर्षालाई आर्थिक सहयोग सङ्कलन भइरहेको बिरामीका आफन्त नरेन खालिङले बताए । उपचारको क्रममा उनको स्वास्थ्य अवस्था क्रमिक सुधार हुदै आएको छ, यो खुशीको खबर हो, नरेनले भने । आर्थिक अवस्था कमजोर भएकै कारण पक्षघातले थलिएकी बर्षाको उपचारमा सहयोग जुटाउन अभियानको रुपमा अघि बढाइने छ । बर्षासँगै उनका तीन महिने छोराले समेत नयाँ जीवन पाउने नरेनको आशा छ ।

उर्लाबारीका एक युवकसँग प्रेम बिवाह गरेकी बर्षाका श्रीमान ज्यालामजदुरी गर्छन् । श्रीमानको अवस्था कमजोर भएपछि, बर्षा आफ्नो छोरासहित माइत घरमा आइपुगेकी हुन् । माइत घरमा दैनिक बिरामीको हेरचार र नानीको हेरचार राम्रो छ ।

आज, शनिबार बर्षाको उपचारमा छ्यालोस खालिङ राई बशंवाली समितिको एक टोलीले सहयोग उपलब्ध गराएको छ । सौठास्थित बर्षाको माइत घरैमा पुगेर समितिले रु ३० हजार ५ सय ५ सहयोग रकम उपलब्ध गराएको हो । सहयोग उपलब्ध कार्यक्रममा समितिका अध्यक्ष डम्बर खालिङको नेतृत्वमा समितिका उपाध्यक्ष खगेन्द्र खालिङ, सचिव अनिलदेब राई, कोषाध्यक्ष शान्त खालिङ र सदस्यहरु नरेन खालिङ, हरि खालिङ, राजन खालिङ लगायत सहभागि थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *