झिलझिले, २४ फागुन–झापाको शिवसताक्षी नगरलाई परिचित गराउने नगरका दुई जना अगुवा महिलालाई १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सम्मान गरिएको छ ।
शिवसताक्षी नगरपालिकाको परिषरमा सोमबार आयोजित भव्य समारोहकाविच मौरिपालन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नगरको छुट्टै पहिचान बनाउन सफल देवीकुमारी ओली दाहाल सम्मानित भएकी छन् ।
ओली २० वर्षदेखि मौरिपालन व्यवसायमा क्रियाशिल छन् । उनकै नेतृत्वमा नगरमा ६ सय भन्दा बढी किसानले मौरिको व्यवसायीक पालन गरिहरेका छन् । ओली सतासी महिला मौरिपालन कृषी सहकारी संस्थाकी व्यवस्थापक तथा नेपाल मौरिपालन महासंघकी केन्द्रिय उपाध्यक्ष हुन् ।
यस्तै, आफ्नो पैत्रिक सम्पती नेपाल सरकारलाई प्रदान गरेर समाज रुपान्तरणको भुमिकामा अग्रपंक्तिमा रहेकी ईन्दिरा गौतमपनि सम्मानित भएकी छन् ।
गौतम गोपाल गौरी दिगो विकास प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष हुन् । १५ वर्ष देखी प्रतिष्ठान स्थापना गरेर पछिल्ला ४ वर्षदेखी तीनवटै सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाईरहेकी गौतम एकल महिला हुन् । बेरोजगार महिलाले शिप सिकेर आत्मनिर्भर बन्न चाहे उनले शिप सिकाएर महिलालाई व्यवसायीक बन्न अभिप्रेरित गरिरहेकी छन् । उनले कम्तिमा ६० महिलालाई शिप सिकाएर रोजगारी दिएकी छन् ।
