काठमाडौं, २५ फागुन–निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । सर्वोच्च अदालतको पछिल्लो फैसला राजनीतिक दललाई जानकारी दिने सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको हो । तर, बैठक कतिबेला बस्ने भन्ने तय भइनसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्चले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि आयोगले फैसलाबारे पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई जानकारी दिन पत्र पठाउँदै छ ।
आयोगका एक पदाधिकारीका अनुसार नेकपा खारेज भएकाले एमाले र माओवादीलाई एकताका लागि पत्र पठाइनेछ । निश्चित समय दिएर एकताका लागि आह्वान गर्दा एकताका लागि नगए एमाले र माओवादी नै हुनेछन् ।
पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिने भएपछि आयोगमा दर्ता भएका एमाले र माओवादीको व्यवस्थापनबारे पनि छलफल हुने बताइएको छ ।
