काठमाडौँ, २६ फागुन–जनता समाजवादी पार्टीले आफ्ना एजेण्डामा सहमत हुनेसँग गठबन्धन गर्ने रणनीति बनाएको छ । सर्वोच्च अदालतले नेकपालाई पूर्ववतः रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजन गरेपछि सत्ताको चाबी जसपाको हातमा पुगेको छ ।
एमालेको एकल बहुमत नपुग्ने भएकाले समर्थनका लागि अन्य पार्टीको सहयोग आवश्यक पर्दछ । त्यसका लागि काँग्रेस र माओवादी केन्द्र भन्दा जसपा अनुकूल हुने देखिएको छ । यसैगरी एमाले विरुद्धको गठबन्धनका लागि काँग्रेस र माओवादी केन्द्रसँग जसपा मिल्नु पर्ने हुन्छ ।
सत्ताको मुख्य चाबी आफ्नो हातमा आएपछि जसपाले एमाले र काँग्रेस माओवादीसँग बार्गेनिङ गर्न थालेको छ । सत्तामा अधिकतम् सहभागिता कुन समूहसँग मिल्दा हुन्छ भन्ने त छँदै छ, त्यसमा सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन र नागरिकता विधेयकमा सहमतीको शर्त राखेको छ ।
जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सत्ता गठबन्धनका लागि नजिक छन् भने अध्यक्ष उपेन्द्र महतो लगायतका अन्य समूह ओली विरोधी समूहसँग गठबन्धन गर्ने पक्षमा उभिएका छन् ।
जसपाको मंगलबार भएको छलफलमा ओलीसँग सत्ता समकरण गर्न नहुने मत बलिया भएपनि जसले आफ्ना एजेण्डा पुरा गर्छ उसैसँग समिकरण गर्नु पर्छ भन्ने बहस पनि भएको छ । जसपाको निर्णय बिना नयाँ सत्ता समिकरणको सम्भावना कम हुँदै गएको छ ।
