काठमाडौं, १ चैत–नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्ने भएका छन्।
सो अभियानको शनिबार बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको अभियानका सचिव बाबुराम थापाले जानकारी दिए।
अध्यक्ष ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरु असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता देखाउने भएका हुन्।
नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णयमा पुगेको सचिव थापाले जानकारी दिए।
शुक्रबारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले शनिबार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ। सो पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ। एमालेभित्र नेताहरु विभाजित हुन थालेपछि घरलाई बलियो र एकताबद्ध बनाउन अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय भएको सचिव थापाले जानकारी दिए।
