दमक, १ चैत–उपचारको निम्ति आवश्यक रकम नभएकै कारण तीन महिनादेखी ओच्छ्यानमा थलिएर कष्टकर जीवन बिताइरहेकी मोरङ सौठाकी बर्षा राई र उनका नवजात शिशुलाई दमक नगर इसाई समाज दिदी-बहिनीहरुले नगद तथा जिन्सी सहयोग गरेका छन् ।
दमक नगर इसाई समाजका पुर्वअध्यक्ष एबम् सल्लाहकार दावा शेर्पाका अनुसार इसाई समाज दिदी-बहिनी समितिका अध्यक्ष रोजी शेर्पा, कोषाध्यक्ष हर्कमाया राई र सल्लाहकार तिला राईको टोलीले आज वर्षाको उपचार र वर्षाकी नानीको पालन–पोषणका निम्ति खानेकुराहरुसहित नगद रु १० हजार सहयोग गरेका हुन् ।
रतुवामाई नगरपालिकाको वडाँ नं ६ सौठास्थित बर्षा राईको माइत घरैमा पुगेर टोलीले सहयोग हस्तान्त्रण गरेको इसाई समाज दमकका पुर्वअध्यक्ष एबम् सल्लाहकार शेर्पाले जानकारी दिनुभयो । सो क्रममा इसाई समाजको तर्फबाट बर्षाकी परिवारसँग बिरामीको अवस्था र अगामी समयमा हुने उपचारको बारेमा चासो राख्दै सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको शेर्पाले बताउनुभयो ।
१९ बर्षिया बर्षा तीन महिनाअघिबाट प्यारालाइसिस् (पक्षघात) भएर ओच्छ्यानमा थलिएकी छन् । उनी बिबाहित हुन् । उनको बिबाह उर्लाबारीका लिम्बू युवासँग भएको हो । उनले गत पुष ७ गते दमकको एक अस्पतालमा छोरा जन्मदिएकी थिईन् ।
छोरा जन्मिएको एक सातापछि उनी भुईमा अचेत अवस्थामा लडेर घाइते भएकी बर्षाकी आफन्त एबम् छिमेकी खगेन्द्र राईले बताउनुभयो । उनको श्रीमान ज्यालामजदुरी गरेर जीविका पार्जन गर्छन् भने माइततर्फका बुबा आमा पनि ज्यालामजदुरी गरेर जीविका पार्जन गरिरहेका छन् । माइती घरमा आश्रय लिएर बसिरहेका वर्षाको उपचार र उनका तीन महिने शिशुको दैनिक हेरचार अनि खानपानमा समस्या भएको स्थानीयहरु बताउँछन् ।
