काठमाडौैं, २ चैत–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज (सोमबार) भेटवार्ता हुनै लाग्दा पार्टी एकता अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो छुट्टै बैठकको तयारी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका पछिल्ला निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने बताएका नेता गौतमले भोलि मंगलबारका लागि बैठक बोलाएका हुन् ।
‘भोलि (मंगलबार) बिहान ११ बजे बल्खु (सिद्धिगणेश पार्टी प्यालेस) मा अभियानको बैठक बस्नेछ’ नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले भने । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको १७५ सदस्यीय कार्य समिति छ ।
ओलीले एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन् । अभियानका संयोजक गौतमले ओलीले गरेका निर्णय खारेज गरी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने उद्घोष यसअघि नै गरिसकेका छन् ।
