काठमाडौं, २ चैत–नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । हिजो (आइतबार) देखि शुरु भएको बैठक सोमबार केहीबेर बसेर स्थगित भएको हो ।
आजको वैठकमा २० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । धारणा राख्ने अधिकांश सदस्यले पार्टीको नाम अहिले परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिएका छन् । उनीहरूले संगठन कसरी विस्तार गर्ने, एकता किन टुट्यो भन्ने विषयमा जनतालाई बुझाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
अरु ८० जनाले बोल्न नाम टिपाएको जानकारी दिंदै उनले भने, ‘ उहाँहरु सबैले बोल्दा बैठक लम्बिने भयो । भोलि संसद बैठक पनि भएको हुँदा संसदीय दलसँग सम्बन्धित काम गर्नुपर्ने, आज अरु राजनीतिक दलसँग वार्ता पनि भएको हुँदा बैठक स्थगित भयो ।’
चौलागाईंका अनुसार बैठकको अर्को मिति तय भएको छैन । ‘लामो समय बैठक नबसौं । यो परिस्थिति कस्तो बन्छ त्यो हेरेर बैठक बसौंला भनेर अध्यक्षले प्रस्ताव गर्नुभयो । राजनीतिक परिस्थिति अर्कै भएपछि कार्यकर्ता भेला गरिन्छ ।
कार्यकर्ता भेलाअघि केन्द्रीय कमिटी बैठक बसौंला भन्नुभयो । त्यसपछि अहिलेका सबै एजेन्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिनेगरी बैठक स्थगित भयो । बैठकको अर्को मिति तय भएको छैन,’ उनले भने ।
नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार निर्माणबारे अरु दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
