सप्तरी, ३ चैत–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सम्भवतः चैत महिनाभित्र अर्को सरकार गठन हुने बताएका छन् ।

प्रेस युनियन सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले नयाँ सरकारका लागि कांग्रेसले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सहकार्य नगर्ने स्पष्ट पारेका छन् ।

ओलीसँग देशलाई नेतृत्व गर्ने हैसियत नदेखिएको बताउँदै नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए । यसका निम्ति तयारी भइरहेको पनि उनले बताए ।

आज (मंगलबार) राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट नयाँ सरकार बनाउने विषयमा केही कुरा स्पष्ट हुन सक्ने बताउँदै सिटौलाले ओलीसँग सरकार बनाउने विषयमा कुनै सहकार्य नहुने स्पष्ट पारे । ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ ।’

प्रतिनिधि सभा विघटन गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उनले बताए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उहाँले राजीनामा दिनु हुन्छ भन्ने मनसाय पनि देखिदैन,’ पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले थपे, ‘अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउँछ । यो भएन भने राजीनामा दिनुपर्छ ।’

ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने र यसका निम्ति छलफल चलिरहेको उनले बताए । लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी सभापतिलाई भनिसकेको नेता सिटौलाले बताए ।

यस्तै, नेता सिटौलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताए । ‘आगामी भदौ महिनामा निर्धारण भएको महाधिवेशन कुनै पनि बहानामा सार्नु भएन,’ उनले भने, ‘यो पार्टीको बटमलाइन हो । योभन्दा पछाडि कसैलाई जानु हुँदैन ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *