काठमाडौं, ४ चैत–स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानको भएको खेलमा सहज जित निकाल्दै रियलले समग्रमा ४–१ को जित निकाल्न सफल भएको हो । रियलले पहिलो लेगमा १–० को जित निकालेको थियो ।
रियलका लागि करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक–एक गोल गरे । उता, एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए । खेलको ३४ औं मिनेटमा मेन्जिमाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दा रियलले आफ्नो अग्रता दोब्बर बनायो । ८३ औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दा खेल २–१ को अवस्थमा आयो ।
८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । च्याम्पियन्स लिगको १३ पटकको विजेता रियलले यससँगै रियल ३६ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
