काठमाडौं, ५ चैत–नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
बालुवाटारमा आज बसेको नेकपा एमाले संसदीय दलको वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग मिल्ने परिस्थिति अहिले तत्काल नरहेको स्पष्ट पारेका हुन् ।
‘अदालतको फैसलापछि निर्वाचन आयोगले दुई पार्टी मिलेर एकीकृत नाम प्रस्ताव गर्न दिएको १५ दिएको समय सकिन चार दिन बाँकी छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद पदम गिरीले भने, ‘मिल्न चाहेमा अदालतले दिएको समय चार दिन बाँकी छ, त्यसका लागि प्रचण्ड र म आफैले मिल्न चाहँदा मिल्न सकिन्छ, तर परिस्थिति त्यस्तो छैन ।’
सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई बदर गरेर पूर्ववत् अवस्थामा फर्काएपछि एमाले संदीय दलको बैठक आज बसेको हो । सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले पनि एमाले–माओवादी एकतापछि बनेको नेकपालाई खारेज गरेर १५ दिनभित्र एकीकृत नाम ल्याउन समय दिएको थियो ।
दुई अध्यक्षले मिल्न चाहेमा सहमति गर्दा मिल्न सकिने भए पनि त्यस्तो सम्भावना नरहेको ओलीले बताएको सांसद गिरीले जानकारी दिएका हुन् । चार दिनमा दुबै अध्यक्ष चुप रहे भने पार्टी पुनः एक हुने सम्भावना औपचारिक रुपमा अन्त्य हुनेछ ।
‘त्यसका लागि ठोस किसिमको कुराकानी भएको छैन,’ ओलीले बैठकमा भने, ‘प्रचण्डजीको अभिव्यक्ति सुन्दा, उहाँहरुको व्यवहारहरु देख्दा उहाँहरुले एकता नचाहेको प्रष्ट हुन्छ ।’ सोमबार मात्र प्रधानमन्त्री समेत रहेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर भेट्ने प्रस्ताव गरेको प्रचण्ड निकट स्रोतले जनाएका थिए ।
संसदीय दलको बैठकमा प्रधानमन्त्रीले प्रचण्डसँगको टेलिफोन संवादबारे भने केही जानकारी नदिएको सांसद गिरीले बताए । ‘उहाँले अदालतको आदेश र एकीकृत नाम प्रस्ताव गरेर जाने समय सीमाबारे बोल्नु भए पनि प्रचण्डसँगको टेलिफोन संवादबारे केही भन्नु भएन,’ गिरीले भने ।
