काठमाडौं, ९ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष र लेखक खगेन्द्र संग्रौलाले उस्तै–उस्तै टिप्पणी गरेका छ ।
आज (सोमबार) दुवै जनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई भष्मासुरको संज्ञा दिएका हुन् ।
प्रधानमन्त्री ओली प्रवृत्तिलाई धेरै पहिलेदेखि भष्मासुरको संज्ञा दिइरहेका पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले आज पौराणिक प्रसङ्ग समेत जोडेर प्रतिगमनविरुद्ध सचेत रहन सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन । भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवलें) वरदान फिर्ता लिनु सट्टा अर्काले (विष्णुले) छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो ! नयाँ रणनीति चाहियो १’
उता साहित्यकार संग्रौलाले पनि वर्तमान सत्तालाई भष्मासुरको संज्ञा दिँदै यसविरुद्ध सबै जना सडकमा उत्रिनुपर्ने बेला कोरोनाको बहानामा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनप्रति शंका व्यक्त गरेका छन् ।
‘संविधान र संसद एवं गणतन्त्र र संघीयतालाई ध्वस्त पार्ने भष्मासुर प्रवृत्तिविरुद्ध दुनियाँ सडकमा उत्रिनुपर्ने बेलामा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट जोगिन ‘भीड नगर’ भन्ने उर्दी जारी गरेछ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘शंका लाग्छ, सत्ताको भष्मासुरे कोरोना र प्रकृतिको कोभिड कोरोनाबीच सेटिङ मिलेको त हैन ?’
