काठमाडौं, १३ चैत–नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला आज (शुक्रबार) एमाले संसदीय दलको बैठक बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।
यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यस पटकको संसदीय दलको बैठकमा सहभागी हुने बताए पनि अन्तिम टुङ्गो भने लगाइसकेका छैनन् । यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइएको बताएका छन् । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा समूहले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोधेपछि एमालेभित्रको विवाद नयाँ मोडमा धकेलिएको छ ।
ओलीले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता नेपालले प्रतिप्रश्नसहितको जवाफ पठाएका छन् । नेता नेपालको प्रतिप्रश्नसहितको जवाफले अध्यक्ष ओली थप असन्तुष्ट बनेको स्रोतले बताएको छ । उनी थप कारबाही बढाउने मुडमा रहेको ओली निकट स्रोतले जानकारी दिएको छ ।
