काठमाडौं, १४ चैत–सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनमा सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको र अब जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

गत पुस ५ देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि सभामुख सापकोटाको भनाइ छ। निक्कै उतारचढाव र बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबीचमा समुद्र मन्थन भई संसदले पुनः गति लिए पनि अझै बहस नसकिएको सभामुख सापकोटाले बताए।

‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं‚’  उनले भने‚ ‘पहिला पहिला भनिने गरिन्थ्यो समुद्र मन्थन, त्यस्तै गरी हामीले धेरै ठूलो बहस गर्‍यौं। त्यो बसहको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन्।’

सभामुख सापकोटाले संसदमा जनअपेक्षाअनुसार काम नभएको स्वीकार गरे। ‘अहिले अलिकति अपेक्षाकृत ढंगले संसदले सिंगो राष्ट्र, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्ररबाहिर छ‚’ उनले भने ‘त्यसलाई म उच्च सम्मान गर्छु।’

उनले संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि प्रष्ट्याए। अहिले केही अन्योल देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनको भनाइ छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *