काठमाडौं, १४ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा नाम विवादमा सर्वोच्च अदालतबाट विचित्रको फैसला आएको बताएका छन् । नेता नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्काइ दिएको बताएका छन् ।

आज बृहत नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्काइ दिए पनि त्यहाँ केपी शर्मा ओलीले आफूलाई ढोका बन्द गरेको बताए । उनले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजिरहेको भए पनि आफू नडराउने बताए ।

‘आज म बढो आफ्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई सर्वोच्च अदालतले घोक्र्याएर पठाई दिएको छ’, नेपालले भने, ‘सर्वोच्च अदालतले बढो विचित्रको फैसला गरेको छ ।’ उनले दुई पार्टी एक भएर नेकपा बनेको निर्वाचन आयोगले प्रमाणित गरेर प्रमाण समेत दिएको र यो बीचमा चुनावलगायतका अन्य धेरै गतिविधि पनि भएको बताउँदै सर्वोच्चले नमान्ने फैसला गरेको बताए ।

उनले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ढोका बन्द भएको बताए । ‘सर्वोच्चको फैसला छ पुरानो ठाउँमा फर्क । हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि मलाई कस्तो गाह्रो छ भनेदेखि पार्टीभित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भन्ने अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन घोक्र्याएर त्यहाँबाट पनि निकाली दिने स्थिति बन्ला’, नेपालले थपे, ‘म त्यस्ता कुरामा डराउने र तर्सिने माधव नेपाल होइन । किनभने यो आन्दोलन र पार्टीको विजारोपण गर्ने म हो ।’ उनले यो देशमा भएका धेरै आन्दोलनमा आफू सहभागी भएको बताए ।

उनले आफूले पार्टीको अन्तरविरोध पार्टीभित्र नराखेर बाहिर आएर राख्न बाध्य भएको बताए । ‘पार्टीको कुरा यहाँ किन भन्यो भन्ने तपाईहरुलाई लागे होला, पार्टीभित्रै गएर भनिदिए हुन्थ्यो भन्ने पनि लागे होला’, उनले भने, ‘पार्टीमा त ढोका बन्द गरिदिएको छ ।’

उनले सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्काइ दिए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै गोप्य भेला बोलाएर आफ्नो पक्षलाई बाइकट गरेर अगाडि बढेको बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *