एजेन्सी, १६ चैत–बंगलादेशमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ।
महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन्। स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना सङ्क्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ।
यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ। बंगलादेशका कोरोना भाइरसबाट अहिलेसम्म कूल छ लाख ८९५ जना सङ्क्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ।
सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ। कोरोना सङ्क्रमित भएर पनि अहिलेसम्म बंगलादेशमा पाँच लाख ३८ हजार १८ जना सङ्क्रमणमुक्त भएका छन्।
तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन्।
