दमक, १६ चैत–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट प्रदेश–१ को संसदीय दलको प्रमुख सचेतकमा झलकबहादुर मगर चयन भएका छन् । आज विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले झलकबहादुर मगरलाई संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

झापा क्षेत्र नं ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित मगर पार्टीका केन्द्रीय सदस्य हुन् । शिबसताक्षी–११ दुधेस्थित बच्चाबर निवासी प्रदेशसभा सदस्य मगरलाई पार्टीले संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको हो । त्यस्तैं, पार्टीको तर्फबाट संसदीय दलको नेतामा इन्द्रबहादुर आङवो चयन भएका छन् ।

माओवादी केन्द्रकी ज्येष्ठ सदस्य शौभाग्यवती राईको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको र दलको नेतामा आफूलाई चयन गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।

यस्तै, सोमबार नै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उप नेतामा रामकुमार राई, प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवति राईलाई चयन गरेको छ । माओवादी केन्द्रका साविक संसदीय दलका नेता टंक आङ्बुहाङ्लाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

आङ्वुहाङले दल छाडेको भन्ने जवाफ दिए वा कुनै जवाफ नदिएको खण्डमा संसदीय दलको सदस्यबाट हटाउने प्रक्रिया शुरू गर्ने आङ्वोले जानकारी दिए । यस्तै, प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफल गरेर अघि बढ्ने आङ्वोले बताए ।

उनले प्रदेशसभामा अविश्वासको प्रस्ताव टुंगोमा नपुग्दै सरकारले मन्त्रिपरिषद्को पुनर्गठन गर्नु संसदीय मूल्य मान्यता र कानुनी राज्य विपरित भएको आङ्वोको दाबी छ। उनले भने ‘प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव कानुनी रुपमा टुंगोमा नपुग्दै मन्त्रिपरिषद् विस्तार गर्नु संसदीय व्यवस्था र मूल्य मान्यता विपरित हो ।’

दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि आङ्वोले पदबाट राजीनामा दिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए ।

यता सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र प्रदेश–१ का संसदीय दलका नेता टंक आङ्बुहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । उनी पछिल्लो पटक मुख्य मन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश–१ को आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *