काठमाडौं, २१ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटारबाटै एकैचोटी १६५ सडकको शिलान्यास गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिएका छन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपल्ट शिलान्यास गरेका थिए ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।
बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय अध्ययन तयार भएको छैन ।
