काठमाडौँ, २२ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन् ।
काठमाडौँ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ । वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ ।’ उनले पार्टीलाई यहाँसम्म आफूले ल्याएको हुनाले ओलीको फुर्तिले अर्थ नलाग्ने बताए ।
‘पार्टीलाई हामीले यहाँसम्म ल्याएका हौँ । कसैले प्रधानमन्त्रीको फुर्ती लगाउन भने, नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको फुर्ति लगाउन भने त्यसको अर्थ छैन । संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ’ उनले भने ।
पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेको कारणले पार्टीभित्र अहिलेको परिस्थिती सिर्जना भएको बताए । पार्टीभित्र विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने।
ओलीले कानुनी रूपले पार्टी कब्जा गरेको भए पनि आधिकारिक एमाले आफूहरू भएको दाबी गरे । ‘हामी यसैलाई आधिकारिक मान्छौँ । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला । ओलीले कानुनी रूपमा पार्टी कब्जा गर्न खोजेका मात्रै हुन्’ भने ।
