पर्सा, २९ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोग जस्तो संवैधानिक आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज पर्साको वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला रु’ एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।
आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्ता माझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए ।
‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’ उनले भने, ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनु भएछ । त्यसैलाई केन्द्रीय कमिटीको विशेष बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनु भयो, जिम्मेवारी खोसिदिनु भयो । मान्छे थपिदिनु भयो । विधान संसोधन गरिदिनु भयो ।’ अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।
