दमक, ३० चैत–दमकका एक कोरोना संक्रमित वृद्धको आज विराटनगरको कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि ती ९२ बर्षिय वृद्धलाई गत चैत २५ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएका उनको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतका अनुसार चिनी रोगी संक्रमित वृद्धको उपचारका क्रममा राति करिब १२ बजे तिर मृत्यु भएकोे छ । त्यहाँ उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।
यसअघि दमकमा मात्रै ३६ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा आइतवार मात्र थप ४ जनामा संक्रमण पुष्टि भएको छ ।
दमकका थपिएका संक्रमितहरु वडा नं ८ र ५ का हुन् । ती संक्रमित थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ४६ सय ४९ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
