काठमाडौं, ३१ चैत–नयाँ सत्ता समीकरणका विषयमा स्पष्ट धारणा बनाउन नसकिरहेको जनता समाजवादी पार्टी (जसपा) ले अहिले भने आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरत अगाडि बढाएको छ ।
नयाँ सरकार गठनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफलमा सहभागी भइसकेको जसपाले अहिले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल अगाडि बढाएको छ । दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सबै नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन जोड दिएका हुन् ।
‘सरकार गठनको विषयले पदाधिकारी बैठकमा औपचारिक प्रवेश पाइसकेको छ’, जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘हाम्रै नेतृत्वमा सरकार बनाउने कुरामा सबै नेताहरू सकारात्मक छौं, समय आएपछि औपचारिक निर्णय गर्छौं ।’ बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।
जसपाको छलफल आफ्नै नेतृत्वमा सरकार गठन गर्नेतर्फ सहमतितर्फ अघि बढिरहेको भए पनि बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्ने चाहिँ टुंग्याएको छैन । जसपाको बैठक केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेर केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षको पर्वका कारण केही दिनका लागि बैठक स्थगित भएको हो । बैठक रोकेर केही शीर्ष नेता नयाँ वर्ष मनाउन उपत्यका बाहिर गएका छन् ।
दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो । तर, एउटा कुरामा सहमति भयो, त्यो हो जसपाकै नेतृत्वमा सरकार बनाउने ।
यता जसपा केन्द्रीय कार्यकारिणी समितिका कतिपय नेताहरूले भने सरकार गठनको विषयमा निर्णय गर्ने बेला नै नभएको बताउने गरेका छन् । कार्यकारिणी समितिका सदस्य वृषेशचन्द्र लाल भन्छन्, ‘वर्तमान सरकार बहुमतमा छ, अहिले अर्को सरकार गठनको विषयमा निर्णय गर्नु धेरै हतार हुन्छ ।’
संघीय संसद्को चौथो ठूलो दल जसपाका ३४ सांसद छन् । जसमध्ये दुई जना निलम्बित छन् । यसअघि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गर्दै आएको छ ।
