शिबगञ्ज, १ वैशाख–नयाँ वर्षको पहिलो दिनमा जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी चासो राख्दै झापाको शिबसताक्षी–६ वडा कार्यालयले आज घर–आँगन र गाउँ–टोलमा पुगेर स्वास्थ्य परिक्षणसहित औषधी वितरण गरिनुका साथै चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ वर्षको पहिलो दिनमा वडा कार्यालय शिबगञ्जले आफ्नो वडाभित्रका जेष्ठ नागरिकप्रति सम्मान गर्दै जनप्रतिनिधि र चिकित्सकसहितको टोली स्वास्थ्य परिक्षण गर्दै औषधी वितरण गरेको हो । सोही अवसर पारेर जेष्ठ नागरिकहरुलाई चियापान समेत गरिएको छ ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडा कार्यालयको आयोजना, जेष्ठ नागरिक वडा समितिको व्यवस्थापन सहयोग र प्राथमिक स्वास्थ्य केन्द्र शिबगञ्जको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
अध्यक्ष कार्कीका अनुसार वर्षको पहिलो दिन कुनै असल काम गर्ने उदेश्यले जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी चासो राखेर कार्यक्रम आयोजना गरिएको हो । सम्पूर्ण समय आफ्नो घर–परिवारको निम्ति र समाज र राष्ट्र निर्माणमा खर्चेर जीवन विताइरहेका जेष्ठ नागरिकको योगदानलाई उच्च सम्मान गर्नपर्नेमा जोड दिनुभयो । वहाँहरु हाम्रो सम्पत्ती हुन्, अध्यक्ष कार्कीले भन्नुभयो–वहाँहरु जीवितै हुदाँ वहाँहरुलाई सम्मान गर्न सक्नु नै हाम्रो कतव्र्य हो ।
साविकः शिबगञ्ज गाविसको वडा नं १, २ र ३ लाई समायोजन गरेर बनाइएको शिबसताक्षी–६ को सवै गाउँ–गाउँ र टोल–टोलमा पुगेर स्वास्थ्य शिविर गरी जेष्ठ नागरिकलाई निःशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वहाँका अनुसार यस अघि, वडाभित्रका जेष्ठ नागरिकहरुलाई भेला गरेर स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रमबीचमा भिटामिन खानेकुराहरु वितरण गरिएको छ ।
त्यस्तैं, लकडाउनको समयमा जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाप्रति वडा कार्यालयले स्वास्थ्यकर्मीसहितको टोलीले घर–घरमा पुगेर ज्वारो, प्रेसर परिक्षण गरिनुका साथै औषधीहरु वितरण गरिएको अध्यक्ष कार्की बताउनुहुन्छ ।





