शान्ति सुब्बा/गौरादह, १ वैशाख–नयाँ वर्षको आगमनसँगै आदीवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवा पर्व आजबाट सुरु भएको हो । पानी सिरुवा, काद (हिलो) सिरुवा र रङ सिरुवा गरि ३ दिनसम्म मनाइने यस पर्वमा माहाराजथानमा गएर पुजा–आजा गर्ने गरिन्छ ।
यस्तै, विभिन्न परिकारहरु जस्तैः दालको बरी (पकौडा), पटुवा साग, पोईसाग, दाल, माछा, मासु, सजिवन, पन्ता भात, घुम्नि (चना) मुरी (भुजा) बनाएर खाने गरिन्छ ।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, थारु, माझी लगायतका जाति-समुदायले नयाँ वर्ष सुरु भएसँगै ३ दिनसम्म यो पर्व मनाउने गर्दछन् ।
सिरुवा पर्वको पनि आफ्नै विशेषता रहि आएको छ । यस अवसरमा अघिल्लो वर्षमा अर्थात चैतको अन्तिम दिनमा पकाइएका विभिन्न परिकारहरु सुरक्षितसँग राखेर नयाँ वर्षको पहिलो दिन अर्थात आज बिहाननै ती बासीखानाहरु खाने गरिन्छ ।
आजनै वर्षभरि शरीर सितल रहोस भन्ने कामना गर्दै अभिभावकले आफू भन्दा सानालाई टाउकोमा पानी थप्थपाएर आशिर्वाद दिएर पानी सिरुवा मनाइएको ताजपुरीया कला संस्कृति विकास समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरीयाले जानकारी दिनुभयो ।
यस्तै, आजनै काद (हिलो) सिरुवा समेत मनाइएको अध्यक्ष ताजपुरीयाले बताउनुभयो । शरीरमा कुनै पनि रोग नलागोस् भन्ने कामना गर्दै एक अर्काको सहमतिमा एक आपसमा रमाईलो गर्दै शुभकामना आदान गर्दै हिलो छ्यापा छयाप् गरेर काद सिरुवा मनाइएको जनाइएको छ ।
गाउँभरीको समूह मिलेर एक निश्चित ठाउँमा भेला भएर त्यस स्थानलाई सेतो माटोले लिपेर एक अर्कामा हिलो दलेर पनि पर्व मनाइने भएकोले यसलाई छलछली पर्व पनि भन्ने गरिने बताइएको छ । काद सिरुवाको दिन माहाराजथानमा मेला लाग्ने भएकोले माहाराजथानमा पुजा–आजा गर्ने, सुन्ठीले बनाइएको फुल घोडा चढाइने गरिन्छ ।
माहाराजथानमा पथुरा (धामी) ले यो वर्ष रोग व्याध लाग्छ लाग्दैन, हावापानीको स्थिति के कस्तो छ, अनिष्टको सम्भावना छ छैन भन्दै माहाराजथान वरीपरी काम्दै बक्दै भविष्यवाणी गर्ने गरेको र कतिपय कुरा मिल्दै आएको र विश्वास गर्दै आएको ताजपुरीयाले बताउनुभयो ।
यस्तै, यो वर्षभरी कुनै प्रकारको रोग व्याध नलागोस, हावाहुरी नआओस, समयमा पानी आओस, खेतीपाती गर्न पाइयोस भनेर विश्वासका साथ माहाराजथानमा पुजा–आजा गर्ने गरिन्छ । यस्तै, भोली सबै दुःख भुलाएर खुशी भएर एक अर्कामा रङ र अबिर दलेर रङ सिरुवा खेलेर खुसियाली मनाउने गरिन्छ ।
सिरुवा पर्वको अवसरमा घरहरु सफा सुग्घर गर्नुका साथै कुल देवताको पुजा गर्ने गरिन्छ । जस अन्तर्गत ठाकुर, ब्रम्हाणी र हनुमानको पुजा गर्ने, सिरुवा पर्वको अघिल्लो दिन १ भात ३२ प्रकारका नयाँ तरकारी बनाउने चलन भएता पनि अहिलेका पुस्ताले त्यस्तो गर्न छोडिसकेको गौरादह-१ की लुब्री ताजपुरीयाले बताउनुभयो ।
यस्तै, सोही दिन घरका छोरा मान्छेहरु मछवारी गर्ने (माछामार्ने) परापूर्व कालदेखिको चलन भएता पनि यि कुराहरु लोप हुँदै गएको र पहिले जस्तो अहिले मनाउने सिरुवा पर्वमा केहि फरकपन आएको बताउनुभयो ।
