दमक, ७ वैशाख–मेची सहकारी संस्था दमकले रजत वर्षको तयारी गर्दै छ । सहकारी संस्था यहि, भाद्र १२ गते २५ वर्षमा प्रवेष गर्दैछ भने आगामी आर्थिक बर्षभित्र सहकारी वस्ती निर्माणसहित झापा, इलाम र मोरङको विभिन्न पालिकाहरुमा थप सेवा केन्द्र कार्यालय स्थापनालाई तीब्र पार्ने भएको छ ।
दमक–४ दाहाल प्रतिष्ठानस्थित १ बिगाह १६ कठ्ठा जमिनमा मेची सहकारी संस्थाले वस्ती निर्माण सम्पन्न गर्ने भएको हो । झापाको गौरादह, शिबसताक्षी, कनकाई र मोरङको रतुवामाई नगरपालिकामा संस्थाको थप सेवा केन्द्रहरु स्थापना गर्ने लक्ष्यसहित अघि बढेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी गराइयो ।
संस्थाको २४औं वार्षिकोत्सव तथा २६औं साधारणसभाबाट संस्थाले घर नभएको तर पेशा वा व्यवसाय गरी आएका आफ्ना शेयर सदस्यहरुलाई सहकारी वस्ती निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । मंगलबार, दमकस्थित संस्थाको आफ्नो कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यस्तो जानकारी गराएको हो ।
अध्यक्ष भट्टराईका अनुसार वस्तीमा ५२ वटा घरहरु हुनेछन् । ती घरहरु एकैप्रकृतिका हुनेछन्, भट्टराईले भने–पहिलो तला ढलाईको हुने छ भने दोस्रो तला ट्रष्टद्धारा निर्माण गरिनेछ ।
कुल ४३ लाखदेखी ५१ लाख मुल्य पर्ने ती घरहरुमा वस्नका लागि सदस्यहरुले पहिलो पटक अनिवार्य ७ लाख बुझाउनुपर्ने छ । सामान्य जीवन यापन गरिरहेका शेयर सदस्यहरुलाई सहज रुपमा घर निर्माण गर्न कठिनाई भएको भन्दै मेची सहकारी संस्थाले सहकारी वस्तीमा घर लिनका लागि २० वर्षसम्मको अवधिसम्म कर्जाको व्यवस्था गरिएको व्यवस्थापक खोमप्रसाद बगालेले बताए ।
घर लिएर बसोबास गरिरहेका सदस्यहरुले उक्त घर ५ वर्षसम्म बिक्री गर्न नपाउने र ५ वर्षपछि बिक्री गर्न परेमा संस्थाका शेयर सदस्य हुनुपर्ने वा शेयर सदस्य बन्नुपर्ने संस्थाको कानूनी प्रावधान छ, बगालेले भने । वस्तीभित्र व्यवस्थित घरहरु, ३० फुटे सडक, बाल–बगैचा, खेल मैदान हुने छ । प्रत्येक घरको वरीपरी पर्खालसहित पर्याप्त पाकिङको सुविधाको प्रवन्ध गरिने भएको छ ।
वस्ती निर्माण र वस्ती सञ्चालन गर्न संस्थाले डिल्लीराम न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा गिरीराज नेपाल, खोमप्रसाद बगाले, खगेन्द्र बहादुर गौतम र दिपेन्द्र ढुंगेल रहेको समिति गठन गरिएको छ ।
यता, वस्तीमा घर लिन सदस्यहरुले चासो देखाएका छन् । संस्थाका अध्यक्ष भट्टराईका अनुसार हालः ८२ जनाले आवेदन दिइसकेका छन् । वस्तीभित्र कुल ५२ वटा घरहरु बन्ने छ ।
यस्तैं, संस्थाले आगामी आर्थिक वर्षभित्रमा मोरङको रतुवामाई नगर, झापाको कनकाई, गौरादह र शिबसताक्षी नगरपालिकामा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । हालः कमल गाउँपालिकाको मंगलबारे बजार, मोरङको उर्लाबारी, मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला, पथरीशनिश्चरे नगरपालिकाको पथरी, झापाको बिर्तामोड र दमकको मुख्य कार्यालयबाट सेवा केन्द्रलाई अलगै स्थानमा स्थापना गरिने लक्ष्य राखेको छ ।
आगामी भदौैं १२ गतेदेखी मेची सहकारी संस्था २४ वर्ष पुरा गरेर २५ वर्षमा प्रवेश गर्ने र संस्थाले आफ्नो २५औं वर्षलाई रजत वर्षको रुपमा मनाइने तयारी गरेको छ । सो रतज वर्षमा संस्थाले स्थापनाकालदेखी हालसम्मका गतिविधिहरुलाई समेटेर स्मारिका प्रकाशन गर्ने, रजत स्तम्भ निर्माण, रजत वर्षको लोगोसहित अतिरित्त क्रियाकलापहरु गरिने भएको छ ।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई उपाध्यक्ष पदम थापाले स्वागत र सचिव राजेन्द्र दाहालको संञ्चालन गरेका थिए । सो कार्यक्रममा संस्थाका व्यवस्थापक बगाले र अध्यक्ष भट्टराईले सहजिकरण गरेका थिए ।

