काठमाडौं, ९ वैशाख–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संवादलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार माधवकुमार नेपालसँग भेटवार्ता गरेर टुटेको संवादलाई जोड्ने प्रयत्न गरेका छन् । त्यस्तै आजै साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीले आजै पार्टीका नेता तथा हिजो स्पष्टीकरण पत्र थमाएका सांसद योगेश भट्टराईलाई पनि भेटेका थिए ।
“प्रधानमन्त्रीले आफैँ टेलिफोन गरेर माधव नेपाललाई भेट्न बोलाउनुभएको हो । आजै साँझ पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोन संवाद भएको छ,” थापाले बाह्रखरीसँग भने ।
स्रोतका अनुसार नेता नेपालसँगको दुई घण्टाको भेटमा सबै विषयमा खुला–खुलस्त कुराकानी भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा यथावत् छन् । प्रधानमन्त्री ओलीले पार्टीमा कामै गर्न नदिएको गुनासो गरेका थिए । उनले पार्टीबाट हटाएर अपमानित र मानमर्दन गर्ने काम गरेको भन्दै लामो दुःखमनाउ गरेको नेपालनिकट स्रोतले जानकारी दियो ।
“आज ठोसरूपमा केही कुरा भएन । संवादलाई जोड्ने सेतु मात्रै भयो आजको भेट,” स्रोतले भन्यो, “उहाँले आफूविरुद्ध घेराबन्दी गरेको, पार्टी सञ्चालमा भाँजोमात्रै हालेको आदि गुनासो गर्नुभयो ।”
नेता नेपालले पनि स्वेच्छाचारिता बढ्दै गएपछि पार्टीभित्र विग्रह उत्पन्न भएको दोहोर्याएका थिए । दुवै पक्षको मिलन विन्दु २०७५ जेठ २ नै भएकाले त्यहीँ फर्कंदा पार्टी विभाजन नहुने दोहोर्याएका थिए ।
थापाले दुईजना नेताबीच पुनः भेट्ने सल्लाह भएर आजको भेटघाट टुङ्ग्याएको जानकारी दिए ।
“कुनै कुरामा समझदारी भएको छैन । दुवै आ–आफ्नो अडानमा हुनुहुन्छ । फेरि भेट्ने कुरा भएको छ,” उनले भने ।
