मार्तडी, १२ वैशाख–बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९, पैमाको खोयालेकबाट जंगली जनावर चितुवाको छालासहित दुईजना शनिबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए । उनका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि सदरमुकाम ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी–सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ ।
