काठमाडौं, १६ वैशाख–काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले बिहीबारदेखि महानगरबासीको लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहीबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नका निम्ति सम्झौता गरेको हो ।

निषेधाज्ञाको समयमा काठमाडौंबासीलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पतालसम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ट करसहित १ लाख २१ हजार रुपैयाँ संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र चौबीसै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । महानगर प्रमुख शाक्यले कहीँ कतैबाट पनि गुनासो न आउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे । कसैलाई हेलचेक्रयाइँ र दुर्व्यवहार नगरी सेवा प्रवाह गर्न उनले निर्देशनसमेत दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *