काठमाडौं, १८ वैशाख–नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ ।
महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नुपर्नेमा गैह्रजिम्मेवार बनेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ ।
बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोरोना संक्रमण विरामीका लागि बेड अभाव भएको जनाएको थियो ।
