काठमाडौं, १८ बैसाख–मुलधारको राजनीतिमा आएको दुई महिनामै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला ‘गम्भिर’ को नेतृत्वमा पार्टी विभाजन भएको हो । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । ‘बाँकी अधुरो क्रान्ति’ सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको उनीहरुको बुझाई छ । ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तिनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी छ’, धमलाले भनेका छन् ।
सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भइसको उनले बताएका छन् । नयाँ पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ ।
नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको दावी गरिएको छ । विश्वब्यापी कोरोना महामारीकाबिरुद्ध लड्न सबैलाई एकजुट भई हातेमालो गर्न समेत नव गठित पार्टीले आव्हान गरेको छ ।
