दमक, २२ बैशाख–झापामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् । दमकका दुई, मेचीनगरका ए-, कनकाईका एक, बिर्तामोडका एक र भद्रपुरका एकजनाको मृत्यु भएको हो ।

दमक २ र १ नम्बर वडाका २ जनाको मृत्यु भएको हो । दमक वडा नं १ का ५६ वर्षिय पुरुषको आज दिउँसो मृत्यु भएको हो ।

दमकको कोभिड हस्पिटलबाट बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा दिउँसो ३ बजे मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, दमक २ का ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै दमकमा पछिल्लो लहरको कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बिर्तामोड आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं ५ की धिमाल थरकी ७३ वर्षिया वृद्धा रहेकी छन् ।
त्यस्तै आज कनकाईका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज विहान विराटनगरको नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज नै मेचीनगर–६ काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको थियो ।

क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् ।

कोरोना हो वा होइन भनेर यकिन गर्न बैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ बजे मृत्यु भएको होे ।

त्यस्तै भद्रपुर ३ का ७० वर्षिय वृद्धको कोरोना संक्रमणबाट हिजो बेलुका मृत्यु भएको छ । बेलुका १०।३० बजे घरमै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । हिजो संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालले फर्काइदिएको थियो ।

भद्रपुरमा दोस्रो लहर शुरु भएयता दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १४२ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *