काठमाडौं, २३ वैशाख–सन्त नेता कृष्णप्रसाद भट्टराईको एउटा भनाइ कांग्रेस र उनको व्यक्तित्व मनपराउनेहरू माझ चर्चित छ–मानिस सकिनु पर्‍यो भने उसलाई कसैले केही गरिरहन पर्दैन । रचयीताले दिमागको चाबी थोरै घुमाइदिनुहुन्छ, बाँकी काम ऊ स्वयम्ले गर्छ र जीवनमा हुनुहुनामी बेहोर्न पुग्छ । जीवनकालमा सिधाबाटोको राजनीति गर्दा धेरै हण्डर खाएका तर, आफूले पाएका धोकाबाट निराशभएका समर्थकलाई आध्यात्मिक बुझाइबाट व्याख्या गरेर सम्झाउने भट्टराईका भनाइसँग मिल्ने नेपालमा थुप्रै घटनाक्रमहरू छन् । परिघटनाको फेहरिस्त लामो हुनसक्छ ।

०५१सालका गिरिजाप्रसाद, ०५८ सालका शेरबहादुर हुन वा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, भट्टराईको व्याख्या जस्तै आफ्नै कर्मले व्यथित भएका उदाहरण हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको छ महिना अघिसम्मशैली फरक थियो–यो सरकार सामान्य सरकार होइन । प्रतिपक्षीले आन्दोलनको चेतावनी दिँदा होस् वा सरकारले ल्याएका संविधान र लोकतन्त्र विरोधी कानुनविरुद्ध सरोकारवालाले गर्ने आन्दोलन । उनका प्रतिक्रिया समान हुन्थे ।

गत वर्ष त उनले पार्टीको विवाद सुरु हुने निश्चित भएपछि छिमेकी मुलुक भारतले सरकार ढाल्ने खेल खेलेको आरोप लगाए । पार्टीभित्रबाट जोगिन नसक्ने निश्चित भएपछि पार्टीभित्र र जनताको ‘सेन्टिमेन्ट’मा खेल्ने गरी उनले गजबको शैली प्रयोग गरे ।

अब विगतमा जस्तो अवस्था छैन र सरकार पनि विगतमा जस्तो कमजोर छैन–जो कि छिमेकले प्रयास गर्दैमा सरकार ढलोस र उसको चाहना अनुरूपको सरकार बनोस् । पार्टी नेताहरूलाई धम्क्याउन छिमेकी मुलुकलाई पनि उनले चेतावनीकै भाषा प्रयोग गरे ।

धेरैले प्रधानमन्त्रीको शैलीका विषयमा टिप्पणी गरेपनि प्रधानमन्त्री ओली आफूलाई एउटा बलियो शासकका रूपमा अथ्र्याउन त्यस्तो भाषा प्रयोग गरेका थिए । उनको अभिव्यक्तिले छिमेक सम्बन्धमा तिक्तता थपियो । लामो समय संवाद हुन सकेन । आफ्नै अभिव्यक्तिबाट बिग्रिएको सम्बन्ध सुधार गर्न उनले धेरै प्रयास गर्नुपर्यो । भारतका लागि नेपाली राजदूतदेखि पराराष्ट्रमन्त्रीको प्रयोगबाट उनले अनेक प्रयत्न गरेर सम्बन्ध सुधार त गरे । तर, त्यो सम्बन्ध उनले भनेजस्तो समान स्तरको हुन सकेन ।

भारतीय गुप्तचर संस्थाका प्रमुख समन्थ गोयलले प्रधानमन्त्रीसँग समानस्तरको ‘पोर्टफेलियो’ भएसझै ‘वान अन वान’ वार्ता गरे भने त्यसपपछिको प्रधानमन्त्रीका अभिव्यक्ति र कदमबाट उनले मेहनत गरेर बनाएको व्यक्तित्व धुलिसात भयो ।

‘लोकतन्त्रका परम्परागत परिभाषा बदल्छु’ भन्दै कार्यकाल सुरु गरेका प्रधानमन्त्री ओलीको छवि मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद सम्बन्धी विधेयक, मानवअधिकार आयोग ऐन सम्बन्धी विधेयकदेखि गुठी विधेयकसम्मले उदाङ्गो पारिदिएका थिए । झन गोयलसँगको भेटपछिका उनका कदम र दल फुटाउने अध्यादेश, संवैधानिक परिषदसम्बन्धी अध्यादेशले उनको आलोकतान्त्रिक शैलीमा ईट्टा थप्ने काम गरेका थिए । जब उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको रटानका लागि लोकतन्त्रको दुहाइ दिन थाले, तब उनको ‘हिटलरी आकांक्षा’ छाताछुल्ल भएको थियो ।

तर, अहिले प्रधानमन्त्रीको अवस्था फरक छ । दुईतिहाइ बहुमतको प्रधानमन्त्रीबाट ओलीको हैसियत अल्पमतको प्रधानमन्त्रीमा पुगेको छ । संसदमा विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । आफ्नो विगतको अडानबाट ‘युटर्न’ भएर उनले मधेसकेन्द्रीत दलका सबैजसो माग पुरा गर्ने आश्वासनसहित केही माग सम्बोधन गरिसकेका छन् । र विश्वासको मत माग्न उनले प्रतिपक्षीसमेतको दैलो धाउन थालेका छन् ।आफ्नो सरकार कसैले ढाल्न नसक्ने र संसदले वैकल्पिक सरकार दिन पनि नसक्नेउनको विगतको भनाइलाई वास्तविकतामा बदल्नु उनका लागि ‘फलामे चिउरा’ हुने संकेत देखिँदै छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली एकाएक एमाले नेताहरूको टिम लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे । पार्टीका बैठक देखि मन्त्रिपरिषदका बैठक बालु्वाटारस्थित सरकारी निवासमै चलाउँदै आएका प्रधानमन्त्री ओली बिरलै प्रधानमन्त्रीनिवास बाहिर निस्कन्छन् । अघिल्लो वर्षको चैत यता उनी सिंहदरबारसमेत कमै आउजाउ गरेका छन् ।

बालुवाटारभित्र पनि कोरोना च्याम्बर बनाएर त्यहाँमात्र भेटघाट गर्न थालेका प्रधानमन्त्री ओली नेताहरुको टोली लिएर कांग्रेस सभापतिको निवास हानिदा धेरैका लागि चासोको विषय बन्यो । आकस्मिक जस्तो शैली देखिए पनि दुइ नेताको भेटवार्ता पूर्वनिर्धारित नै रहेछ । किन भने उनले पार्टीका चार नेता लिएर बुढानिलकण्ठ पुग्दा देउवा थप छ नेतासहित उनको स्वागतमा बसेका थिए । एमालेका पाँच र कांग्रेसका सात नेताबीच दुई घण्टा बढी छलफल भएको थियो ।

कांग्रेस नेताहरुसँग छलफलका लागि पुगेको प्रधानमन्त्री ओलीले आफैंले कुरा सुरु गरे र कांग्रेससँग सहयोगको याचना गरे । सहयोग माग्ने पृष्ठभूमि तयार पर्न उनले लामो समयदेखि लोकतन्त्रको लडाइमा एउटै मोर्चामा लडेको स्मरण गराए ।

कांग्रेस र एमाले दुबै लोकतन्त्रवादी भएको भन्दै त्यस बाहेकका शक्तिले लोकतन्त्रलाई प्रतिनिधित्व गर्न नसक्ने दावी पनि उनले प्रस्तुत गरे ।

कांग्रेस भेटमा सहभागी एक कांग्रेस नेताका अनुसार बुधबार उनको शैली विगतमा भन्दा पूर्णतः भिन्न थियो । “आगामी २७ गतेको संसदमा विश्वासको मत लिन लाग्दै छु, सरकारलाई विश्वासको मत दिइदिनुस्,” ओलीले कांगे्रस नेतामाझ भनेको भनाई उद्धृत गर्दै ती नेताले भने, “विश्वासको मत दिन सक्नु हुन्न भने चुनाव गराउँछु । वातावरण मिलाइदिनुस् ।”

उनले कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेर सबै चुनावका लागि तयार हुने भन्दै विश्वास दिने वा चुनावमा जाने दुई मध्ये एक विकल्पमा सहयोग गर्न आग्रह गरेका थिए । ओलीको त्यस्तो अभिव्यक्ति नटुंगिदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रतिवाद गरेका थिए ।

“प्रधानमन्त्रीजी १ तपाई लोकतन्त्रका लागि सँगै लडेका हौँ, अब पनि लोकतन्त्रका लागि सहयात्रा गर्ने प्रस्ताव गर्दै हुनुहुन्छ,” पौडेलको भनाई उद्धृत गर्दै ती नेताले भने, “तर, तपाईं प्रधानमन्त्री भएका दिनदेखि आजसम्म लोकतन्त्रमाथि हमला गरिरहनु भएको छ ।” पौडेलले धेरै विषयमा अडिएर प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि टिप्पणी गरेको बताए ।

कांग्रेस नेता पौडेलले पनि ओलीले गरेका नाराम्रा काम आफूले अगाडि बसेरै टिप्पणी गरेका स्वीकार गरे । “उहाँले डे वान देखि संविधानमाथी हमला गर्नुभयो । संसदको अस्तित्व स्वीकार गर्नुभएन, व्यवस्थामाथि नै हमला गर्नेगरी संविधान विपरित संसद समाप्त पार्ने प्रयास गर्नुभयो,” पौडेलले बाह्रखरीसँग भने, “प्रदेशमा भाँडभैले मच्चाउनुभएको छ, विधि र पद्धति मिच्ने काम गरिरहनु्भएको छ । संवैधानिक आयोगलाई आफ्ना कारिन्दा जस्ता बनाउँदै हुनुहुन्छ । सर्वोच्च न्यायालयमासमेत उहाँले हस्ताक्षेप गर्दै हुनुुहुन्छ ।”

उनले प्रधानमन्त्री ओली प्रधानमन्त्रीभएपछि लोकतन्त्रलाई सहयोग पुग्ने एउटा पनि काम नभएको भन्दै उनका सबै गतिविधि लोकतन्त्र मास्नेमा केन्द्रीत भएको बताए। संविधान कार्यान्वयको दायित्वबाट पन्छिने र वर्तमान व्यवस्थामाथि नै प्रश्न उठाउने काम गर्नु ओलीको गैर जिम्मेवारीको परकाष्ठा भएको उनको भनाइ छ ।

कांग्रेसले ओलीका तमाम प्रस्ताव अस्वीकार गर्दै निर्वाचनमा जाने विषयमा भने विश्वास लिने प्रस्ताव असफल भएपछि मात्र सुरु हुने बताएको छ । कोरोना कहरमा रहेका नागरिक अक्सिजन, भेन्टिलेटर, आईसीयू र सामान्य बेडसमेत अभाव भएर छटपटिने अवस्था आएको भएपनि सरकारले जिम्मेवारपूर्ण रूपमा जनतालाई अविभावकीय दायित्व निर्वाह गर्न नसकेको उसको बुझाई थियो ।

सीमा व्यवस्थापनमा ध्यान नदिएको, बाहिरबाट आउनेहरूबाट कोरोना फैलिन नदिन उचित व्यवस्था गर्न असफल भएको, अहिलेपनि विरामीको उपचारका लागि जिम्मेवार बन्न नसकेको जस्ता आरोप लगाएको कांग्रेसले विश्वासको मत र सत्ता साझेदारी अस्वीकार गरेको छ ।

आफ्नै पार्टीभित्र फ्लोर क्रस हुने, आफूले सबै माग पूरा गर्छु भन्दा पनि जसपाको सिंगो पार्टीले विश्वास नदिने चिन्ताले ग्रस्त भएका प्रधानमन्त्री देउवा निवासबाट पनि निराश भएर फर्कने अवस्था बनेको छ ।

अब उनले विगतमा जस्तै संविधानविपरीतको अर्को कदम चालेर कृष्णप्रसादले दिने गरेको जस्तो अर्को बर्वादिको बाटो समाउछन् वा स्वभाविक सत्ता हस्तान्तरणबाट आफ्नो बिग्रिएको छवि सुधार्छन् । त्यो भने ओलीको विवेकका लागि अर्को परीक्षा हो । सबैले दोहोर्‍याएर परीक्षाको मौका पाउँदैनन् । ओलीलाई आफूलाई प्रमाणित गर्ने अवसर छ । बाह्रखरी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *