काठमाडौं, २३ बैसाख–नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विश्वासको मत लिने नाममा प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक बाटोतिर जान खोजिरहेको आरोप लगाएका छन् । आज नयाँवानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने दावी गरे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु हुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नु भएको छ’ नेता पुनले भने ।

प्रधानमन्त्री ओली फेरि पनि संसद विघटन गर्ने सोंचमा रहेको बताउँदै पुनले भने, ‘विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नु भएको छ भन्ने एकदम स्पष्ट छ’ उनले भने । यही देखेर आफूहरुले सरकारलाई दिएको समर्थन लामो समयसम्म फिर्ता नलिएको उनको प्रष्टीकरण छ । आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको पुनको दाबी छ ।

‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नु हुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनु भएको हो’ नेता पुनले भने ।

ओलीले संसदमा विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उनले बताए । ‘उहाँ (प्रधानमन्त्री) ले विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्रपतिले आह्वान गर्नुपर्छ’ नेता पुनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *