काठमाडौँ, २३ वैशाख–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि एमाले नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
सभापति देउवा र नेता नेपालबीच लगभग एक घण्टा छलफल भएको बताइएको छ । दुई नेताबीच के के विषयमा छलफलमा भयो भन्ने सार्वजनिक नभएपनि केही सैद्धान्तिक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्तावका लागि यही वैशाख २७ गते संसद बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको विश्वासको मत फेल गराउने लगायतका विषयमा देउवा र नेपालबीच छलफल भएको बताइएको छ ।
देउवालाई भेटे लगत्तै नेता नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । एमालेको अन्तरसंघर्ष लगायतका विषयमा राष्ट्रपति भण्डारी र नेता नेपालबीच छलफल हुने सम्भावना रहेको छ ।
आजै दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको थियो ।
