काठमाडौं, २६ वैशाख–सत्तारूढ नेपाल कम्युस्ट पार्टी (एमाले) को कोर्स करेक्सनले नयाँ मोड लिएको छ । पार्टीको आन्तरिक एकताको सम्भावना सकिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २५ बढी सांसदले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।
शनिबार अबेर साँझसम्म बसेको बैठकले सामूहिक राजीनामाको विकल्प नै उत्तम हुने निष्कर्ष निकालेको दाङका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
खनाल–नेपाल समूहले आइतबार दिउँसो ३ बजे सामूहिक राजीनामा पत्र बुझाउने तयारी गरेको उनले बताए । “आज हामी दिउँसो ३ बजे बस्छौँ । त्यसपछि निर्णय लिन्छौँ । सामूहिक राजीनामा दिनेमा त करिबकरिब सहमति जुटिसकेको छ,” उनले भने, “प्रत्यक्षतर्फ २२ र सामानुपातिक केही गरी ३० को वरिपरि हुन्छ ।”
खनाल–नेपाल समूहमा प्रत्यक्ष २२ सांसद छन् । ती सबैले राजीनामा नै विकल्प देखेको उनको भनाइ छ । “हाम्रो पक्षमा खुलेका केही समानुपातिक सांसद पनि राजीनामाकै मनशायमा हुनुहुन्छ,” उनले भने ।
