काठमाडौं, २६ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत पाउने सम्भावना ‘लगभग’ सकिएको छ ।
प्रधानमन्त्री ओलीको दल नेकपा एमालेबाहेकका राजनीतिक दलले विश्वासको मत दिन नसक्ने स्पष्ट सन्देश दिएका छन् ।
कांग्रेस संसदीय दलले शनिबार नै ओलीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रले यसअघि नै स्थायी कमिटी बैठकबाटै निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीको एउटा समूह (महन्थ–राजेन्द्र) ले साथ दिँदै आएको भए पनि आइतबार बालुवाटार पुगेर ओलीलाई समर्थन गर्न नसकिने स्पष्ट सन्देश दिएको छ ।
ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी फुट्ने निष्कर्ष निकाल्दै अहिले प्रस्तावको पक्षमा मतदान गर्न नसकिने जनाएको छ ।
नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका हुन् ।
महतोले कुराकानीमा भने, “प्रधानमन्त्रीले हामीसँग विश्वासको मत माग्नुभयो । हामीले अहिले तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ भन्यौँ । अर्को कुरा तपाईंले केही माग पूरा गरिदिनुभएकाले विपक्षमा पनि जान सक्दैनौँ भन्यौँ ।”
उनका अनुसार भोलि हुने मतदानमा जसपा तटस्थ बस्नेछ ।
एमालेकै माधवकुमार नेपाल समूहमा रहेका नेताहरुले पनि बेलुकासम्म ओलीले माग पूरा नगरे संयुक्त राजीनामाको तयारी गरेका छन् । तर जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएपछि राजीनामा कुनै अर्थ नरहने एक नेता बताउँछन् ।
कुरा गर्दै ओली निकट एक सांसद भन्छन्– अहिले नै सबै सम्भावना सकियो भन्ने अवस्था छैन । भोलिसम्म हेरौँ के हुन्छ ।”
उनका अनुसार ओलीले विश्वासको मत लिन नसके पनि अर्को सरकार ओलीकै नेतृत्वमा बन्नेछ ।
प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मतका लागि संसद्मा तत्काल कायम रहेको संख्या २७१ को बहुमत पुर्याउनुपर्ने हुन्छ ।
त्यसका लागि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १३६ जना सांसद अनिवार्य उभिनुपर्छ । त्यो अवस्था ‘लगभग’ समाप्त भएको छ ।
जसपा नेता महतोले कुराकानीमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कतैबाट पनि नदेखिएको तर्क गरे ।
बाह्रखरीबाट
