काठमाडौं, २६ बैसाख–संवैधानिक परिषदको वैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।
लोकसेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
को हुन् रेग्मी ?
कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।
रेग्मी लोकसेवा आयोगको पूर्व सचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोकसेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका स्रोतको भनाइ छ ।
रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।
रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिर्न खोजेको टिप्पणी समेत गरेका छन् । नयाँपेजबाट
