दमक, २७ वैशाख–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारी अनुसार अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो ।
आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो ।
अध्यक्ष पौडेलका अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन ।
‘कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गतवर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने । यसपटक एसईई दिने विद्यार्थी पाँच लाख भन्दा बढी छन् ।
गतवर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो ।
सेतोपाटी
