झिलझिले, २७ वैशाख–झापाको शिबसताक्षी नगर क्षेत्रमा कोरोना भाइरसको सङक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको छ ।
नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले कोरोनाको संक्रमणका बाबजुद अग्रभागमा खटिएका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री निशुल्क वितरण गरेको छ । महासंघले मास्क र सेनिटाइजर वितरण शुरु गरेको हो ।
महासंघको देशव्यापी अभियान अन्तर्गत झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म यस किसिमको अभियानलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
सोमबार महासंघले राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको व्यवस्थापनमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय शिवगञ्जसंगै पूर्वको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा करिब २ हजार मास्क र २० थान सेनिटाइजर वितरण गरेको हो ।
महासंघका केन्द्रिय सदस्य सुरज रिङगालुङ राई, भिम लिवाङ, युवा संघ शिवसताक्षी नगर कमिटी अध्यक्ष भिम बोहोरा, युव संघ शिबसताक्षी नगर सचिव एबम् जुनियर लायन्सकर्मी सुजन भण्डारी लगायतका नेता कार्यकर्ताहरु सम्मिलित टोलीले सामग्री वितरण गरेका हुन ।
इलाका प्रहरी कार्यालय झिलझिलेमा आयोजित सो संक्षिप्त कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष धनबहादुर थेवेको प्रमुख आतिथ्य र खेलकुद महासंघका केन्द्रिय सदस्य रिङगालुङको अध्यक्षता रहेको थियो ।
सो अवसरमा इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरिक्षक ध्रुवनारायण श्रेष्ठले कोरोना संक्रमण विरुद्ध लडदै जिल्ला प्रशासनद्धारा घोषणा गरिएको निषेधाज्ञा कार्यान्वयनमा युवा तथा खेलाडी वर्गबाट प्राप्त सहयोगले उर्जा मिलेको बताए ।


