काठमाडौं, २८ बैसाख–नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गर्ने भएको छ । आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले बहुमत जुटाएर सभापति देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समय सीमाभित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ । आफूहरुसँग बहुमत पुग्ने दाबी गर्दै सहमहामन्त्री महतले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकारमा जाने बताएका छन् । त्यस्तै बैठकले जसपालाई एक ठाउँमा ल्याउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूह नयाँ सरकारका विषयमा विभाजित भएको छ । यस्तै एमालेकै माधवकुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे । ठाकुर समूहले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने स्पष्ट पारेको छ भने यादव समूहले कांग्रेसको नेतृत्वमा सरकारमा जानुपर्ने बताएको छ ।
