धरमपुर (शिबसताक्षी), ४ जेष्ठ–झापाको शिवसताक्षी–२ धरमपुरका कृषक थिरबहादुर श्रेष्ठले व्यवसायिकरुपमा खोर्सानी खेती गर्नु भयो । तर, केही दिन यता लगातारको बन्दको कारण श्रेष्ठले लगाएको खोर्सानीले बजार नपाएपछि धमाधम फल्दै गरेको खोर्सानीको बोटै उखेल्न थालेका छन् ।
श्रेष्ठ जस्तै धेरै कृषकहरुले व्यवसायिकरुपमा लगाएका तरकारी तथा फलफूल खेती परिवर्तन गर्न सुरु गरेका छन् । श्रेष्ठले धेरै मिहेनत गरेर लगाएको खोर्सानीले फल फल्न सुरु गरेपछि बिक्री नभएको कारण फल्दै गरेका खोर्सानीको बोट नै उखेल्न बाध्य बनेका हुन् । उनले
बन्दका कारण विक्री नभएपछि खोर्सानीको बदलामा वैकल्पिक खेतीका लागि खेतबारी खाली गर्न लागेका श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार खोर्सानी विक्री गर्ने वेला कोरोना कहरले बजार बन्द हुँदा फलेको खोर्सानी समेत त्यतिकै फाल्नु पर्ने अवस्था आएको छ ।
यता, कलम गाउँपालिका वडा नं २ तोपगाछीकी राधा कोइरालाले पनि ठूलो क्षेत्रमा व्यवसायिकरुपमा खोर्सानी लगाउनु भएको छ । तर, बजारमा लाने बेला बन्द भएपछि फल्दै गरेको खोर्सानी नै उखलेर फाल्न थाल्नु भएको छ ।
विक्री नभएपछि कतिपय किसानले पाकेको खोर्सानी सुकाउन थालेका छन् । तर व्यवसासियकरुपमा ठूलो क्षेत्रमा खेती गर्ने किसानहरु भने बजार बन्दले मारमा परेको अर्का किसान डिल्लि पौडेलले बताउनु भयो ।
जिल्लामा २ सय ८० हेक्टर क्षेत्रफलमा ५ हजार मेट्रिक टन खोर्सानी उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाको तथ्याङक छ । तर, गत बर्षदेखि शुरु भएको कोरोना कहरले खोर्सनी खेती विस्तार गर्दै लगेका किसान भने समस्यामा परेको उनीहरुले गुनासो पोखेका छन् ।
