काठमाडौं, ५ जेठ–सत्तारूढ नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक आज (बुधबार) पनि सिंहदरबारमा बस्दैछ । आज अबेर साँझ (७ बजे) बैठक तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
मंगलबार सिंहदरबारमै दिउँसो १ बजेपछि बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।
पार्टीमा एकता–समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्दै हिजोको बैठक सकिएको थियो ।
आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।
‘माधव नेपालले आचारसंहिता उल्लंघन गरे’
हिजो कार्यदलले बनाएको आचारसंहिता नेता माधवकुमार नेपालबाटै उल्लंघन भएको ओली पक्षले बताएको छ ।
बिहीबार हुन लागेको राष्ट्रिसभा उपचुनावमा उमेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल मंगलबार नेता नेपाल निवासमा सहयोगका लागि पुगेका थिए । नेता नेपालले पार्टीको विवाद उत्कर्षमा हुँदा अरू दलहरू कांग्रेस, माओवादी केन्द्र र जसपासमेतलाई पनि साथ लिएर उठाएका उमेदवार खिमलाल देवकोटालाई धोका दिनु राजनीतिक नहुने बताएका थिए ।
त्यसो भए मतदातालाई स्वविवेक प्रयोग गर्न दिउँ भन्दै बादल बाहिरिएको थिए ।
केही बेरपछि नेता नेपालको सचिवालयले पार्टी एकता प्रयासलाई आघात पुग्नेगरी र कार्यदलको आचारसंहिताविपरीत हुनेगरी वक्तव्य निकालेको र डा। खिमलाल देवकोटालाई मत मागेको भन्दै ओली पक्ष आक्रोशित बनेको छ । उसले यो विषय आज कार्यदलमा उठाउने पनि बताएको छ ।
“नेता नेपालले नै कार्यदल प्रस्ताव गर्नुभएको हो । हिजो कार्यदलमा आचारसंहिता एक मतले पारित गरिएको हो । उहाँ विधि, पद्धतिको कुरा उठाउनुहुन्छ । बढ्ता वकालत गर्नुहुन्छ,” कार्यदलका एक सदस्य भन्छन्, “उहाँले नै त्यसो गर्न मिल्छ । मतदातालाई नै स्वविवेकले निर्णय गर्न दिऊँ भन्नु राजनीतिक नै थियो तर, वक्तव्यबाजी किन गर्नुपर्यो ?,” ती सदस्यको प्रश्न छ ।
