काठमाडौं, ५ जेठ–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेशतर्फको उपनिर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भोटको अपिल जारी गरेका छन् ।

निर्वाचन आचारसंहिता २०७२ (पाँचौं संसोधन २०७४) अनुसार मौन अवधिमा पालन गर्नुपर्ने आचरणमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।

तर, प्रधानमन्त्री ओलीले भने सो आचार संहिताले उल्लेख गरेका विषयलाई उल्लंघन गरेका छन् । आफ्नो दलबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गर्दै उनले पार्टी पंक्तिलाई निर्देशन गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा निर्वाचन प्रचारप्रसार सम्वन्धि काम कारवाही गर्न नहुने उल्लेख रहेको तर, प्रधानमन्त्रीले निकालेको वक्तव्यबारे जानकारी नरहेको बताए । आयोगले ३ जेठ राति १२ बजेबाट बागमती प्रदेशतर्फको राष्ट्रिय सभा उपनिर्वाचनका लागि मौन अवधि शुरु भइएको जनाएको हो ।

बादल र देवकोटा हेटौंडामा, मेयर विद्यासुन्दर शाक्य पनि चुनावी प्रचार–प्रसारमा

काठमाडौं, ५ जेठ-भोलि ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हेटौंडा पुगेका छन् ।

बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौंडा-४ भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौंडा आएका हुन् । बादल चितवन हुँदा आज दिउँसो १ बजे हेटौंडा आइपुगेका हुन् । उनी हेटौंडा-२ मोटल एभोकाडो होटलमा बसेका छन् ।

यसअघि अर्का उम्मेदवार ड.खिमलाल देवकोटा पनि हेटौंडा पुगिसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौंडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिन्ह दिएका छ भने, बादल सूर्य चिन्हबाट चुनाव लड्ने निश्चित भइसकेको छ ।

बादलसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि चुनावी प्रचारप्रसारमा जुटेका छन् । उनी पनि हेटौंडामा बादलसँगै पार्टीका नेता कार्यकर्तासँग भेटघाटमै छन् । नेकपा एमालेको ओली-नेपाल पक्षबीच सहमती जुटिसकेको देखिए पनि हेटौंडामा भने आफ्नो पार्टीको उम्मेदवार बादललाई जिताउनका लागि ओली पक्षका नेता कार्यकर्ता मात्र भेलामा जुटेका छन् ।

बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को तर्फबाट कृष्णबहादुर तामाङ पनि मादल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *