काठमाडौं, ६ जेठ–राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा निर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।

आयोगले मतदानको समय बिहान ९ बजेदेखि ३ बजेका लागि तोकेको छ । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् ।

भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख) र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीनवटा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा मतादताहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने लगायत स्वास्थ्य मापदण्ड लागु गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहेका छन् । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा उमेदवार छन् । उनलाई एमालेको खनाल–नेपाल समूहको समेत साथ रहेको बताइन्छ । तर, एमालेको विवाद समाधानका लागि कार्यदल बनेर काम सुरु गरिसकेकाले उक्त समूहको भोट कता हाल्ने भन्ने अझै टुंगो नरहेको नेताहरु बताउँछन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेका उमेदवार र राष्ट्रिय जनमोर्चा (राजमो) ले गठबन्धनका उमेदवारलाई सघाउने घोषणा गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *