वीरगञ्ज, ६ जेठ–कोरोना संक्रमित भए ज्येष्ठ नागरिकलाई कठिन हुने बताइरहेका बेला वीरगञ्ज उपमहानगरपालिकाकी ९१ वर्षीया उपप्रमुख शान्ति कार्की १४ दिन अस्पताल बसेपछि कोरोनालाई परास्त गर्दै बिहीबार घर फर्किएकी छन् । घर फर्किदै गरेकी कार्कीले भनिन्, ‘मेरो मनमा कोरोनाले मर्छु भन्ने त एक पटक पनि ख्यालै आएन ।’ आत्मबल बलियो पारे कोरोनालाई सहजै जितिने उनले बताइन् ।

उनले भनिन्, ‘मेरो मनमा यत्ति मात्र थियो, कोरोनाले मलाई होइन, मैले नै कोरोनालाई पछारेरै छाड्छु । त्यही साहसले मैले कोरोना हराएँ ।’
अस्पताल रहँदा आफूले कहिले पनि मनोबल कमजोर नपारेको उनले सुनाइन् । कार्कीले भनिन्, ‘सम्पूर्ण महानगरवासीको शुभेच्छा र आर्शिवादले पनि काम गर्‍यो । ‘धर्तीमा जन्म लिएपछि एक न एक दिन मर्नैपर्छे, कार्कीले थपिन्, ‘कोरोना लाग्यो अब त म मरिहाल्छु भनेर मनमा डर राख्ने होइन, मैले कोरोनालाई हराउनै पर्छ भन्ने संकल्प लिनुपर्छ, निको अवश्य हुन्छ ।’

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर आक्रामक देखिएको परिस्थितिमा ९१ वर्षीया संक्रमितले कोरोना जित्नु चानचुने कुरा थिएन । त्यसैले उनलाई बधाई सन्देशसहितका फोन रिसिभ गर्न भ्याइनभ्याइ छ । उनी भन्छिन्, ‘कोरोनाले भन्दा मोबाइलले पो हैरान पार्यो ।’ कार्की वैशाख २३ गते कोरोना संक्रमित भएकी थिइन् । संक्रमण पुष्टि भएको भोलिपल्ट वैशाख २४ गते कार्की वीरगञ्ज महानगरपालिकाले गोपालमण्डली अतिथी सदनमा सञ्चालन गरेको कोभिड अस्थायी अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् ।

महानगरपालिकाले वैशाख २४ गतेदेखि अतिथी सदनमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामीका रुपमा कार्की नै भर्ना भएकी थिइन् । १४ दिनको उपचारपछि बुधबार दोस्रो पटक उनको पीसीआर परीक्षण गरिएको थियो ।

नारायणी अस्पतालको प्रयोशालाले बुधबार साँझ दिएको रिपोर्टमा कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो पटकको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले कार्कीलाई अस्पतालबाट बिहीबार बिहान डिस्चार्ज गरेर घर पठाइएको उपचारमा संलग्न डा। नीरज क्यालले बताए ।

बिहीबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएपछि कार्कीलाई नगर प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले फूलको गुच्छा दिएर अस्पतालबाट बिदा गरेका हुन् । अस्पतालबाट डिस्चार्जपछि माइस्थानस्थित भाउजू राधा कार्कीको घरमा गएको नगर प्रमुख सरावगीले जानकारी दिए । कार्कीले दुई चार दिन आराम गर्ने र त्यसपछि काममा फर्कने बताइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *