काठमाडौं, ७ जेठ–प्रधानमन्त्री र राष्ट्रपतिले संविधानविरुद्ध कदम चालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आकस्मिक बैठक बस्न लागेको छ । देउवा निवास बूढानीलकण्ठमा डाकिएको बैठकमा पदिधकारी र पूर्वपदाधिकारी आमन्त्रित छन् ।
कांग्रेसले विज्ञप्ति जारी गरेर संविधानको धारा ७६को उपधारा (३) को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुबै अवस्था नहुँदै धारा ७६को उपधारा (५) को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुबै असंवैधानिक भएको बताएको छ ।
विहान ९ बजेका लागि डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि कांग्रेसले औपचारिक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीका विषयमा कसरी जाने भन्ने रणनीति तय गर्ने छ ।
“यो व्यवस्था प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतबाटै समाप्त हुने अवस्था देखिँदैछ,” कांग्रेस नेता रमेश लेखकले भने, “उहाँहरु मिलेपछि संविधानको व्यवस्था र विधिभन्दा उहाँहरुको चाहनाले महत्व पाउने अवस्था देखियो ।” कांग्रेसका धेरै नेताहरु राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर विशेष अधिवेशनमार्फत ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा छन् ।
कांग्रेसका युवा नेता गगन थापाले सामाजिक संजालमार्फत नै राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्रीलाई विदा गर्ने प्रस्ताव राखेका छन् । यो प्रस्तावमा कांग्रेस धेरैजना कांग्रेस नेताहरु सहमत देखिएका छन् ।
“कांग्रेससँग जनता र नागरिक समाजका धेरै अपेक्षा छन् तर संसदमा कांग्रेससँग पर्याप्त संख्या नभएकै कारण यस्तो अवस्था आएको हो,” कांग्रेस नेता लेखकले भने, “जुन अपेक्षा र कांग्रेसका सिमितताका बीचबाट कांग्रेसले निर्णय गर्छ।”
