काठमाडौं, ७ जेठ–विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिले अर्को असंवैधानिक कदम चालेको निष्कर्षमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । बैठकपछि नेताहरु बाहिरिएका छन् । अर्को बैठक केही बेर पछि सिंहदरबारमा बस्ने नेताहरुले बताएका छन् ।

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई र राजीनामा समेत नदिएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आव्हान गरेपछि दलहरु त्यसको प्रतिरोधको दौडधुपमा छन् । अर्को सरकार दाबी गर्न चार घण्टामात्रै बाँकी रहँदा दलहरुले अर्को सरकार दाबी गर्ने वा नगर्ने कुनै टुंगो नलागेको, तर विकल्पहरुमाथि छलफल भइरहेको बताएका छन् ।

बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक भएको साझा निष्कर्ष निकालिएको जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले बताए । ‘हामीले जसपाको तर्फबाट धारणा राख्यौँ, उहाँहरुले पनि आफ्नो कुरा राख्नुभयो । विभिन्न विकल्पहरुबारे छलफल भएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेर फेरि शीर्ष नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।’

कांग्रेस सभापति देउवाको निमन्त्रणामा छलफलका लागि एमाले नेता माधवकुमार नेपाल, र भीम रावल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जसपाका नेताहरु मोहम्मद इष्तियाक राई, राजेन्द्र श्रेष्ठ र रेणु यादव लगायत नेताहरु बुढानिलकण्ठ पुगेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *