काठमाडौंं, ७ जेठ–नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्ष दुबैले दाबी गरेका छन् । सत्तापक्षबाट प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् भने विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दावी गरेका छन् ।
दुबै पक्षले सरकार गठकका लागि दावी बुझाएपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले १४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् ।
यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि १५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । तर दुवै पक्षले बहुमत दाबी गरेपछि राष्ट्रपति कार्यालयले अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ ।
‘हामीले अध्ययन गर्नैपर्ने देखियो, केही सांसदको गुनासो आएको छ, आवश्यक परे कानुनी परामर्श र बाटो पनि लिन्छौं’, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने । कसको बहुमत जुट्यो भन्ने निर्णय आज आउने सम्भावना निकै कम रहेको ढकालले बताएका छन् । प्रतिपक्षी दलका नेताहरू पनि अहिले शीतल निवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली यसअघि नै बाहिरिइ सकेका छन् ।
राष्ट्रपतिले भनिन्, ‘प्रधानमन्त्रीको पनि दाबी आएको छ, मैले हेर्छु’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबीसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
राष्ट्रपतिलाई भेटेर हस्ताक्षरसहितको दाबी बुझाइएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपतिले सांसदहरुको हस्ताक्षरसहितको पत्र बुझेर दर्ता गर्न निर्देशन दिएकी थिइन् । देउवाले आफ्नो दाबी पेस गर्दै संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।
‘प्रधानमन्त्रीले पनि यसअघि हस्ताक्षर बुझाएर गइसक्नु भएको छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको पनि दाबी आयो । म हेर्छु, कानून पनि बुझ्छु ।’
