धरमपुर, १ं० जेठ–झापाको धरमपुरस्थित मंगलबारे बजारका आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाले आज राहत उपलब्ध गराएको छ । आइतबार राती आगलागीमा परेर दुई घर नष्ट भएको थियो । आगलागी भएर क्षति भएको दुई घरमा पाँच परिवार बसोबास गर्ने गरेका थिए ।
उपशाखाका सभापति नारायण प्रसाद दाहालका अनुसार प्रति परिवारलाई त्रिपाल, ओढ्ने ओच्छयाउने (लत्ताकपडा), भाडाकुडा, सावून, म्याट लगायतका सामाग्रीहरु वितरण गरिएको छ । स्थानीय नन्दकला राईको घरबाट सुरु भएको आगोले छिमेकी नेत्र प्रसाद चिमोरियाको घरसमेत क्षति भएको थियो ।
आगलागीबाट राई, चिमोरिया, महरा र दिनेश शाह बिस्थापित भएका छन् । उनीहरुलाई रेडक्रसले राहत वापत सो सहयोग सामाग्रीहरु उपलब्ध गराएको हो । वडा सदस्य दुर्गा बुडाथोकीको उपस्थितिमा सो सामाग्री उपलब्ध गराइएको रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सभापति दाहालले जानकारी दिए ।
नन्दकला राईको घरमा राईले टेलर्स व्यवसाय गर्दै आएका थिइन भने कुमार महराले पनि टेलर्स व्यवसाय गर्दै आएका थिए । यता, नेत्रप्रसाद चिमोरियाको घरमा जयबहादुर बुडाथोकीले चिया तथा खाजा पसल सञ्चालन गरिरहेका थिए ।
राईको घर समेत गरेर अन्य सामाग्रीहरुसहित रु ५० लाख बढीका धनमाल नष्ट भएको छ । टेलर्समा १४ वटा मेसिन र कपडाहरु जलेका मगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङले जानकारी दिए ।
